नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गरिनुपर्ने भन्दै अनशन बस्ने प्रेम निधि कँडेल भारद्धाजको घोषणा

admin

काठमाडौं, २५ भदौ : श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषदले नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गरियोस भनेर आगामी असोज १ गतेबाट आमरण अनशन बस्ने घोषणा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्ले यस्तो घोषणा गरेको हो ।

 

परिषद्ले अघि सारेका मागमा सम्पूर्ण पालिकाहरुमा गौवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन आयोग गठन हुनुपर्ने, वेदलाई राष्ट्रिय ग्रन्थ घोषणा गरिनुपर्ने, कालीगण्डकी (कृष्णा–गण्डकी) लाई जीवित आस्था (देवी) का रुपमा स्विकार गर्दै नेपाल सम्पदा सूचीमा सुचिकृत गरिनुपर्ने र विश्व सम्पदा सुचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने र नेपालका विभिन्न नदीनाला, ताल–तलाउ, कुण्ड आदिमा रहेका परम्परागत घाटहरु (स्नान तथा श्मशान) को व्यवस्थित् निर्माण गरिनुपर्ने रहेका छन् ।

परिषद्का अध्यक्ष तथा संयोजक प्रेम निधि कँडेल भारद्धाजले सनातन संस्कृतिको संरक्षण गर्न अर्को विकल्प नदेखिएको भन्दै आफूले आगामी असोज १ गतेदेखि नेपालकै मध्यभाग चितवनको भरतपुर महानगरपालिका–१ स्थित हाल नित्य चलिरहेको गण्डकी–नारायणी महाआरतीस्थल नारायाणी नदी किनारमै अनशन बस्ने घोषणा गरे । उनी २०७२ मा पनि यही माग राखी अनशन बसेका थिए ।

कार्यक्रममा विभिन्न धार्मिक अभियन्ता तथा गुरूहरुले नेपाललाई सनातन हिन्दूराष्ट्र बनाउनुपर्ने मागमा ऐक्यबद्धता जनाएका थिए ।

हिन्दूराष्ट बनाउनुपर्ने माग गरेर २०७२ सालमा अनशन बस्ने अभियन्ता खेमनाथ आचार्य, डा. योगी चिन्तामणि, बैैंकटेश्वर मन्दिरका महन्थ स्वामी पद्मधराचार्य, व्यासाचार्य किशोर गौतम, २०७२ मै हिन्दूराष्ट्र बनाउनुपर्ने माग राखेर अनशन बसेका कमल घोडासैनीले बोलेका थिए । उनीहरुले नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने बताएका थिए ।

 

प्रतिक्रिया