फिल्म ‘अभियान’ युनिटद्वारा सुनसरीका संकल्पसहित ४ रङ्ग पत्रकार सम्मानित

admin

इटहरी : तामाङ थाकथलो किपटको कथामा पहिचानको आवाज बोल्ने फिल्म ‘अभियान’को इटहरी तरहरास्थित संयुक्त भुपु सैनिक भवनमा दोश्रो पटक भब्य विशेष शो सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रमपछि फिल्म प्रदर्शन गरिएको थियो । दिनको २ बजेदेखि सुरु भएको कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आथित्यता रहेको थियो ।

औपचारिक कार्यक्रममा ५ जना रङ्ग पत्रकारलाई फिल्म युनिटले सम्मान समेत गरेको थियो । सम्मानित हुनेमा डिथ्री अनलाइन इटहरीका प्रबन्ध निर्देशक तथा सो फिल्मका प्रेस संयोजक सुवास श्रेष्ठ संकल्प, कृति टेलिभिजनकि मौसमी कार्की, शप्तकोशी टेलिभिजनका बिकल रेग्मी, एरिना टेलिभिजनकि सुप्रीया राई र बिराट टेलिभिजनका बिकल पौडेल सम्मानित भएका हुन् ।

फिल्म युनिटले मोफसलमा रहेर फिल्मका गतिविधिलाई मिडियामा प्रसारण गरेर यो क्षेत्रमा पुर्याएको योगदान र ‘अभियान’ प्रचारमा सहयोग गरेको भन्दै संकल्पसहित ५ जना रङ्ग पत्रकारलाई सम्मान गरेको हो ।

तरहराको विशेष शोमा डम्फु सेलोबाट औपचारिक कार्यक्रमको सुभारम्भ गरिएको थियो । उक्त विशेष शोमा झन्डै डेढ सयको हाराहारीमा उपस्थित थिए । लाखमान योन्जन तामाङ लिखित, निर्मित तथा निर्देशित फिल्म अभियानको गएको भदौ १८ गते इटहरीस्थित इलाइट सिनेमा हलमा पहिलो पटक विशेष शो गरिएको थियो ।

इलाईटमा गरिएको झै तरहरामा पनि उपस्थिति उत्साहजनक रहेको र सबैले फिल्म राम्रो लागेको भन्दै सकारात्मक प्रतिक्रिया पाएको फिल्मका निर्माता तथा निर्देशक तामाङले बताए । अब यसपछी असोज १० गते काठमाडौको जमल अवस्थित राष्ट्रिय नाच घरमा ‘अभियान’ को भब्य विशेष शो गरिने फिल्म युनिटको तयारी छ ।

कोशी भिजन फिल्म्सको ब्यानरमा बनेको अभियानलाई स्व. जयनन्द लामाको अन्तिम फिल्म भनिएको छ । स्व. लामा सहित यो फिल्ममा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

मदन बहादुर राइ प्रस्तुतकर्ता रहेको फिल्मलाई आउदो माघ १३ गतेबाट देशब्यापी प्रदर्शनमा ल्याउने निर्माण युनिटको भनाइ छ । सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट पाएको फिल्मलाई सुमन तामाङले छायांकन गरेका हुन् ।

कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका छन् भने मैना घिसिङ फिल्मकि निर्माता हुन् । अभियानमा २ ओटा गीत समावेश गरिएको छ ।

गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियारको स्वर रहेको छ भने संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङले गरेका छन् । राजेश लेप्चाले द्वन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया