सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छ :गृहमन्त्री मन्त्री खाण

admin

काठमाडौँ, २ असोज : गृहमन्त्री बालकृष्ण खाणले सरकार आमनागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम’मा उहाँले सरकारको प्रमुख लक्ष्य नागरिकको रक्षा भएको बताउनुभएको हो ।

“मानिसको जीवन ज्यादै महत्वपूर्ण छ, नागरिकको रक्षाका लागि समाज र राज्यको निर्माण भएको हो, सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री खाणले कोही व्यक्तिले आत्महत्याको बाटो रोज्न नहुने बताउँदै भन्नुभयो, “हरेक व्यक्तिले आफ्नो जीवन, परिवार, इष्टमित्र, छरछिमेकको जीवन रक्षाका लागि लागौँ, कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस्, ।” उहाँले सीमित स्रोतसाधनका बीच नेपाल प्रहरीले जनधनको रक्षा र शान्ति क्षेत्रका लागि गरेको कामको सराहना गर्नुभयो ।

मन्त्री खाणले देशको विकासका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको बताउनुभयो । महान्यायाधिवक्ता खम्बबहादुर खातीले आत्महत्यासम्बन्धी समस्या पहिचान गरेर त्यसको निराकरणका लागि लाग्नुपर्ने बताउनुभयो ।

उहाँले विश्वका १९६ मुलुकमध्ये आत्महत्या गर्ने देशमध्ये नेपाल १२६औँ स्थानमा रहेको बताउनुभयो । महान्यायाधीवक्ताको कार्यालयले आत्महत्या रोकथामका लागि पञ्चवर्षीय योजना बनाएर अगाडि बढेको उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हरेक व्यक्तिले आफूलाई कमजोर ठान्दा आत्महत्याको बाटो रोज्ने गरेको बताउनुभयो ।

“जिन्दगी र खेलमा सधैँ जित्न सकिन्छ भन्ने छैन, हार्न पनि जान्नुपर्छ, आफूलाई समस्या परे आफ्नो परिवार तथा आफन्तलाई समस्या शेयर गरेर समाधान निकाल्नुपर्छ”, उहाँले भन्नुभयो । सधँै सामाजिक सञ्जालमा झुण्डिएर नबस्न विद्यार्थीलाई उहाँले आग्रह गर्नुभयो ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरीले आत्महत्या रोकथामलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । “आत्महत्या रोकथाम गर्न प्रहरी एक्लैले सक्दैन, सबैको साथ सहयोगबाट आत्महत्या न्यूनीकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले व्यक्ति, परिवार, समाज र राष्ट्रको साझा प्रयासले आत्महत्या रोकथाम गर्न सकिने बताउनुभयो । आत्महत्याको कारण खोजेर यसको समाधानतर्फ लाग्नुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, सामुदायिक सेवा केन्द्र गोँगबुका अध्यक्ष राकेश सिंहलगायतले सबै क्षेत्रको सहकार्य र हातेमालोले आत्महत्यालाई रोक्न सकिने बताउनुभएको थियो ।

नेपालमा १५ वर्षदेखि २९ वर्षसम्म र ४५ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको छ । नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक एवं मनोचिकित्सक डा आशिष दत्तका अनुसार विश्वमा प्रत्येक वर्ष सात लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेका छन् ।

नेपालमा आव २०७८/०७९ मा आत्महत्याबाट छ हजार आठ सय ३० जनाको ज्यान गएको छ । आत्महत्याको प्रमुख कारण मानसिक रोग भएको डा दत्तको भनाइ छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकले आत्महत्या जटिल रूपमा अगाडि बढेको भन्दै यसलाई रोकथाम गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया