राष्ट्रपतिले कू गरेको आरोप, तत्काल राजीनामा दिन सुझाब, एमालेले गर्यो बचाउ

admin

काठमाडौँ, ५ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि राजनीतिक दलहरु दुई कित्तामा विभाजित भएका छन् ।


विधेयक प्रमाणिकरण नभएपछि उत्पन्न विवादलाई मध्येनजर गर्दै रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कर कार्यक्रममा विभिन्न दलका नेताहरुले फरक फरक धारणा व्यक्त गरेका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संसदले पठाएको विधेयक राष्ट्रपतिले पहिलो पटक फिर्ता पठाउन मिल्ने भए पनि दोस्रो पटक प्रमाणिकरण गर्नुको विकल्प नहुँदा पनि रोकेर असवैधानिक काम गरेको आरोप लगाए ।

विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानमाथि कू गरेको यादवको आरोप छ । राष्ट्रपतिले संविधान र व्यवस्थालाई नै उल्ट्याउन खोजेकोसमेत आरोप लगाए । अहिलेको व्यवस्था असफल बनाएर अर्को कुन व्यवस्था ल्याउन खोजेको हो भनेर यादवले प्रश्न गरे ।

तर कुनै पनि हालतमा यो व्यवस्था उल्ट्याउन नसक्ने पनि यादवको भनाई छ । संविधानविपरितको काम गरेकाले राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्ने मागसमेत यादवले गरे ।

राष्ट्रपतिले देशलाई मुठभेडतर्फ लगेर चुनावसमेत रोक्ने षडयन्त्र गरेको यादवको भनाई छ । गठबन्धनका कारण एमालेले चुनाव हार्ने अवस्था भएकाले चुनाव नै बिथोल्ने षडयन्त्रमा राष्ट्रपति लागेको उनको तर्क छ ।

नेकपा एमालेका नेता तथा पूर्व कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले राष्ट्रपतिले सदनबाट पहिलोपटक पारित भएर पठाएपछि संविधानको अधिकार प्रयोग गर्दै सुझाबसहित फिर्ता पठाए पनि कुनै संशोधन नगरिएकाले अहिलेको अवस्था आएको बताए । सत्ता गठबन्धनले जे मन लाग्यो त्यही गरेको नतिजा अहिले देखा परेको भन्दै राष्ट्रपति भण्डारीको बचाउ गरे ।

“राष्ट्रपतिले पुनर्विचार गर्न भनेर पठाइसकेपछि अलिकति तलमाथि पनि गर्न नहुने हो ? एउटा शब्द पनि चेन्ज गर्न नहुने के त्यस्तो आपत आइलाग्यो ?” तामाङले भने । कसैलाई रिझाउन मन भएर अध्यादेशमार्फत ल्याउन तामाङले चुनौति दिएका छन् । राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेर संविधानको संरक्षण गरेको दाबी गर्दै अनावश्यक विवादमा तान्न जरुरी नरहेको उनको भनाई छ ।

जनता समाजवादी पार्टीका नेता मनिष सुमनले संविधान निर्माणका बेला भएको त्रुटीको नतिजा अहिले देखा परेको बताए । आफूहरुले संविधानमा भएका त्रुटी हटाउन संशोधन गरौँ भन्दा संविधान विरोधी भनेर धपाइएको उनको गुनासो छ । तर राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधानको घोर उल्लंघन गरेको सुमनको प्रतिक्रिया छ ।

संविधानको संरक्षक भएर कुनै दल र शक्तिको गोटी भएर काम गरेको सुमनले आरोप लगाए । उनले भने–“उहाँको व्यवहार नेकपा एमालेको कार्यकता जस्तो देखियो । उहाँको पूर्व पार्टी एमालेले यही नागरिकतासम्बन्धी कानुनलाई अध्यादेश बनाएर पठाउँदा रातको ११ बजे पारित गर्ने । तर सिङ्गो प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गराउँदा पठाउँदा चाँही दुई पटकसम्म प्रमाणिकरण गर्नुभएन ।”

नेता सुमनले एमालेले अहिले खुशी मनाइरहेको भए पनि राष्ट्रपतिको कदमले अहिलेको व्यवस्था नै धरापमा परेको बताए । आगमी दिनमा राष्ट्रपतिले सरकारबाट भएका सिफारिस स्वीकार नगर्ने खतरा बढेको भन्दै समुनले विधेयक प्रमाणिकरण नगर्नुलाई कूको संज्ञा दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता भविश्वर पराजुलीले संविधानमा हुँदै नभएको व्यवस्थाअनुसार संसदबाट पारित भएको विधेयक प्रमाणिकरण नगर्नु असंवैधानिक कदम भएको बताए ।

गैर संवैधानिक र गैर राजनीतिक कदम फेरी पनि दोहोरिने खतरा बढेकोले राजनीतिक दल र नागरिक समाज सचेत हुनुपर्ने बेला आएको पराजुलीको भनाई छ । उनले तत्काल राष्ट्रपति पदबाट राजीनामा दिनुपर्ने पनि बताए ।

 

प्रतिक्रिया