गठबन्धनको एजेन्डा : भ्रष्टाचारमुक्त कर्णाली

admin

सुर्खेत, २६ असोज : चुनावी माहोल तातिएसँगै सुर्खेतमा वाम लोकतान्त्रिक गठबन्धनले कर्णाली प्रदेशलाई भ्रष्टाचार र अनियमितता शून्य बनाउने एजेण्डा अघि सारेको छ । भ्रष्टाचार र अनियमितता अन्त्य गरी समृद्ध कर्णाली निर्माणलाई गठबन्धनले आफ्नो मूल एजेण्डा बनाएको छ ।

कर्णालीबाटै ‘भ्रष्टाचारमुक्त’ अभियानको थालनी गरिने पनि गठबन्धनतर्फका उम्मेदवारले बताएका छन् । उम्मेदवारले सुर्खेती जनताको साथ र सहयोगले गठबन्धनको जीत निश्चित रहेको दाबीसमेत गरेका छन् । उनीहरूका अनुसार अब कर्णालीबाटै भ्रष्टाचार र अनियमितता शून्य बनाउने अभियान सुरु गरी यसलाई देशव्यापी बनाइनेछ ।

वाम लोकतान्त्रिक बुधबार गठबन्धनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सुर्खेत निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फका उम्मेदवार हृदयराम थानीले गठबन्धनका उम्मेदवारले निर्वाचन जितेपछि आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताउनुभयो ।

उहाँले निर्वाचनमा जीत निश्चित रहेकाले निर्वाचन जितेपछि भ्रष्टाचारका विरुद्ध लड्ने बताउनुभयो । “म सधैँ जनताको नजिक छु । सुर्खेती जनताले मलाई मतदान गरेर विजयी बनाउनुभयो भने म भ्रष्टाचार गर्दिन, नातागोतालाई सरकारी नियुक्तिमा भर्ती गर्ने छैन”, उहाँले भन्नुभयो । गठबन्धनका उम्मेदवार प्रदेश र सङ्घको नेतृत्व हाँक्नसक्ने रहेकाले पनि सुर्खेती जनताले गठबन्धनकै उम्मेदवारलाई विजयी बनाउने उहाँको जिकिर छ ।

कार्यक्रममा गठबन्धनका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) का उम्मेदवार विन्दमान विष्टले सुर्खेती जनताले अवसर पाएको बताउनुभयो । उहाँले सुर्खेतका जनताले गठबन्धनका उम्मेदवारलाई मतदान गरेर जिताउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (क) बाट उम्मेदवार कालिप्रसाद शाक्यले लोकतान्त्रिक बाम गठबन्धन आफ्नै खालको रणनीति लिएर चुनावी मैदान होम्मिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार, अनियमितता हाम्रो अगाडि ‘च्यालेञ्ज’ बन्यो । अब भ्रष्टाचार, अनियमितता हटाउने अभियान कर्णालीबाट सुरु हुनेछ ।”

सुर्खेत निर्वाचन १ (क) प्रदेशसभा सदस्यका उम्मेदवार खड्कबहादुर पोखरेलले संविधानको रक्षा र सुर्खेतको परिवर्तनका लागि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नुभयो । सुर्खेत निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख)का उम्मेदवार कृष्ण जिसीले यो गठबन्धन स्वार्थका लागि नभई विकास र समृद्धिका लागि भएको बताउनुभयो ।

प्रतिक्रिया