नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज

admin

काठमाडौं, असोज २८ : आज शुक्रबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुआत हुँदैछ । पोखरा रंगशालामा विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन् ।

अपराह्न ४ बजे उपराष्ट्रपति पुनले खेल​को औपचारिक उद्घाटन गर्नेछन् । उद्घाटनमा ओलम्पियन टीका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् भने उद्घाटन समारोहमा मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए ।

प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोलीको सहभागिता रहनेछ ।

अस्वस्थताका कारण राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुन नसकेपछि उपराष्ट्रपति पुन प्रतियोगिताको उद्घाटनका लागि हिजो बिहीबार नै पोखरा पुगेका हुन् ।

प्रतिक्रिया