जोशीको शव अध्ययनका लागि किस्ट अस्पताललाई हस्तान्तरण

admin

काठमाडौँ, ३० असोज : वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे शव किस्ट अस्पतालालई हस्तान्तरण गरिएकाे छ ।

जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । उहाँकाे पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गरी प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् जोशीको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहाँलाई मन्त्रीहरूसहित सरकारका उच्च पदस्थ अधिकारी, नेता, नागरिक समाज, सर्वसाधारणलगायतले पनि पुल्चोकमा पुगेर श्रद्धाञ्जली दिएका थिए । यसैबीच सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गरेको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज आइतवार बिहान किस्ट अस्पतालमै निधन भएको थियाे ।

ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिनुभएका जोशी संस्कृतिविद् हुनुहुन्छ ।

उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ । उहाँकाे ‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभएको थियो ।

प्रतिक्रिया