नेपालमा डेङ्गीकाे नयाँ सेराेटाइप पुष्टि

admin

काठमाडौँ, ३ कात्तिक : नेपालमा यो वर्ष डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा १२ वटा नमुनामा परीक्षण गर्दा सात वटामा सेरोटाइप ‘वान’ देखिएको छ भने पाँच वटा नमुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको दाहालले बताउनुभयो । डेङ्गीको चार वटा सेरोटाइप हुनेमा सेरोटाइप ‘वान’ र ‘टु’ योभन्दा अगाडि पनि नेपालमा देखिएको थियो भने सेरोटाइप ‘थ्री’ भने पहिलो पटक नेपालमा देखिएको हो ।

धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप ‘थ्री’ देखिएको भन्न नमिल्ने डा. प्रमुख दाहालको भनाइ छ । अब धेरै नमुना परीक्षण गरेर कुन सेरोटाइप नेपालमा छ भन्ने जानकारी लिने उहाँले बताउनुभयो । नयाँ सेरोटाइप हुँदैमा बढी जटिल नहुने उहाँले बताउनुभयो ।

कुनै व्यक्तिलाई एउटा सेरोटाइपको डेङ्गी पहिला नै पुष्टि भइसकेको छ भने अर्को सेरोटाइप पनि देखियो भनेमात्रै जोखिम हुन सक्ने डा. दाहालकाे भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सातै प्रदेशका अस्पतालबाट दुई सय ५० वटा नमुना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । त्यो परीक्षण पछिमात्रै विस्तृतमा थाहा हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया