कांग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ : मन्त्री कार्की

admin

इनरुवा, १३ कात्तिक : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताउनुभएको छ ।

सुनसरीको कोशी गाउँपालिका–५ मा आज लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा उहाँले मङ्सिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएपछि कांग्रेसले आफ्नो घोषणापत्रमा नेपाली जनता समक्ष गरेको सबै प्रतिबद्धता पूरा हुने बताउनुभयो ।

उहाँले तीन वर्षमुनिका बालबालिकालाई जुनसुकै बिरामी भए पनि निःशुल्क उपचार खर्च राज्यले गर्ने, ७३ वर्षभन्दा माथिको जुनसुकै बिरामी भए पनि त्यसको खर्च राज्यले गर्ने, ६५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई वृद्धभत्ता दिनेलगायतको कांग्रेसले जनतासामु गरेको सबै प्रतिबद्धता पूरा गर्ने भएकाले नेपाली कांग्रेससहित लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

लोकतान्त्रिक वाम–गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ का उमेदवारसमेत रहनुभएका मन्त्री कार्कीले यस क्षेत्रमा रहेको स्कुल र मदरसालाई स्मार्ट स्कुलका रूपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस क्षेत्रमा रहेको मोबाइल नेटर्वकको समस्या सधैँका लागि अन्त्य गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी उहाँले दिनुभयो ।

कोशी गाउँपालिका–५ नम्बर वडामा रहेको सिँचाइको समस्या समाधान गर्नका लागि गलफरिया सिँचाइ आयोजनाको कार्य अगाडि बढाइसकेको जानकारी दिनुभयो । विचार, दृष्टिकोणविना विकास हुन नसक्ने भएकाले त्यसलाई कार्यान्यवन गर्नका लागि आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

नेपालमा जलस्रोत, पर्यटन, व्यवसाय कृषिको प्रचुर सम्भावना रहेकाले यो सबै क्षेत्रको विकास गरेर देशलाई १० वर्षभित्रमा दक्षिण एसियाको धनी देशका रूपमा विकास गर्न सकिने मन्त्री कार्कीले बताउनुभयो । स्वदेशमै स्वरोजगार सिर्जना गरेर विदेश गइरहेका युवालाई स्वदेशमै आम्दानी गर्न सक्ने वतावरण निर्माण गर्ने मन्त्री कार्कीले बताउनुभयो ।

प्रतिक्रिया