धनगढी : बाजुरामा आगोमा जलेर पाँचमहिने शिशुको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो।
आज (आइतबार) बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार चुलोको नजिकै सुताइराखेको शिशुको जलेर मृत्यु भएको हो। आजै बाजुराको सदरमुकाम मार्तडीको एउटा घरमा आगलागी भएको छ।
बडीमालिका नगरपालिका–८ स्थित वीरबहादुर थापाको घरमा आगलागी भएको हो। बिजुलीको तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए। उनका अनुसार स्थानीय, प्रहरी, सशस्त्र प्रहरी‚ विद्यार्थी र नेपाली सेनाको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको थियो।
आगोले तीनतले घर जलेर पूरै नष्ट भएको छ तर मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।