काठमाडौँ, २२ कात्तिक : झापा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उमेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उमेदवारले हातपात गरेका छन् । हिजो सोमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयोजना गरेको उमेदवार–मतदाता अन्तरक्रियामा हरि रानाका कार्यकर्ताहरूले हातपात गरेका हुन् ।
कार्यक्रममा नेपाललाई रानाका कार्यकर्ताले गरेको प्रश्नको जवाफ दिनबाट रोक्दै नेपाल बोल्दाबोल्दै रानाले माइक तानेपछि तनाव उत्पन्न भएको हो । स्वतन्त्र उमेदवार नेपालले जवाफ दिने क्रममा बीचैमा रोकेर सत्ता गठबन्धनका उमेदवार हरि रानाले जवाफ दिन आवश्यक नरहेको भन्दै नेपालले बोलिरहेको माइक खोस्न पोडियमसम्म पुगेपछि विवाद सिर्जना भएको बताइएको छ ।
नेपालले बोल्दा रानाका कार्यकर्ताले पटकपटक माइकको आवाज काटिदिएको बताइएको छ । झापाको बिर्तामोड महानन्द चोक नजिक सिके चिन्तन प्रतिष्ठानमा स्थानीय युवाले आयोजना गरेको अन्तरक्रियामा गठबन्धनका पक्षधर रानासँग आएका युवाले कार्यक्रम हलको ढोकाको चुक्कुल लगाएर उमेदवार नेपाललाई बाहिर आउन नदिइ नियन्त्रणमा लिएको आरोप नेपाल पक्षले लगाएको छ ।
रानाका कार्यकर्ताले नेपाललाई स्वागत नेपालको नाम भद्रप्रसाद नेपाल हुँदाहुँदै किन स्वागत नेपाल भनेर झुक्याएको भन्दै प्रश्न गरेका थिए । नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली र बीपीले आम रुपमा बोलाइने र लेख्ने प्रचण्ड, केपी र बीपी नाममा कसैको पनि नागरिकता नभएको र आफ्नो पनि सबै पुस्तक उपनामबाटै छापिएकोले ती पुस्तक पढेर जानकारी लिन जवाफ दिएका थिए । उनको जवाफपपछि रानाले ‘अब जवाफ दिन आवश्यक छैन’ भन्दै नेपालको हातबाट माइक खोस्न रोष्ट्रममै पुगेका थिए ।