तनहुँ, २३ कात्तिक : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताउनुभएको छ ।
जिल्लाको भानु नगरपालिका–१३ पोखरीछापमा आज आयोजित कार्यक्रममा उहाँले कृषि, पर्यटन र ऊर्जाको विकास गरेर उद्योगग्राम र औद्योगिक क्षेत्रको स्थापना गरी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
नेता पौडेलले गाउँ–गाउँमा साना–ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी, गाउँ–गाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकता दिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा फड्को मार्ने योजना अघि बढाइएको उहाँले बताउनुभयो ।
गठबन्धन मुलुकलाई अग्रगमनतिर लैजान गरिएको बताउँदै उहाँले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग र तपस्यालाई साकार बनाउन गठबन्धन गरिएको बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन आवश्यकता देखिएकाले गठबन्धन गरी देशलाई निकास दिन सँगसँगै लागेको नेता पौडेलले जोड दिनुभयो ।
“मैले ल्याएको केही विकासका योजना अधुरा रहेकाले त्यसलाई पूरा गर्ने बाचासहित तपाईँहरूको घरदैलोमा आएको हुँ”, उहाँले भन्नुभयो, “यसपटक गठबन्धनका उम्मेदवारलाई बहुमत दिएर जिताउन आग्रह गर्दछु ।”