प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

admin

काठमाडौँ, २६ कात्तिक : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।

दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले रु पाँच लाख प्राप्त ग¥यो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफले फिल्डिङ राजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाएर एक सय ७९ रन बनायो । एक सय ८० रनको विजयी लक्ष्य एपीएफले ३८ दशमलव तीन ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि भूवन कार्कीले ५५ रन बनाए ।

उनले ८२ बल खेल्ने क्रममा एक छक्का र चार चौका हाने । यस्तै सुमित महर्जनले ३४ रन बनाए । उनले ४५ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे । यस्तै कप्तान शरद् भेषवाकरले अविजित १६, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ र आशिफ शेखले १४ रनको योगदान दिए । बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक÷एक विकेट लिए ।

यसअघि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिने क्रममा आर्मी क्लबका लागि रोहितकुमार पौडेलले ४९ बनाए । यस्तै जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए । बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले तीन÷तीन तथा किशोर महतोले दुई विकेट लिए ।

यसअघि आर्मी क्लवले शुक्रबार नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । एपीएफ क्लबले भने बिहीबार मधेस प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी पाँचौँ पटक तथा एपीएफ तेस्रो पटक फाइनल खेल्न पुगेको हो । प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए ।

प्रतिक्रिया