काठमाडौं, २७ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिनमा गाडी तोडफोड भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आक्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताए ।
रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको बोहराले जानकारी दिए ।
घटना लगत्तै उम्मेदवार लामिछानेले आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्यालीमा रहेको बताए । उनले यो आक्रमणलाई आफूमाथिको आक्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाए ।
उनले कुटपिट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन् । लामिछाने चितवन २ बाट उम्मेदवार छन् भने सो क्षेत्रमा गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ प्रतिस्पर्धामा छन् भने एमालेबाट कृष्णभक्त पोखरेल छन् ।