परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा

admin

तानसेन (पाल्पा), २७ कात्तिक : बगनासकाली ९ चापपानीका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो (ताल्चा) बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८/१० घर परिवारले लामो समयदेखि साँचो बनाउँदै आएका थिए ।

विश्वकर्माका हजुरबुबादेखिको यो पेसा ७४ वर्षीय टेकबहादुरले एक्लै धानिरहनुभएको छ । “पहिला त सबैका घरमा बगनासे साँचो हुन्थे, विदेशसम्म जान्थ्यो”, उहाँले भन्नुभयो, “बहुदल आएसँगै सबै सामान विदेशबाट आउन थाले हामीले बनाएका साँचो बिक्री हुन छाडे ।”

फलाम, पाइन, स्वाग र पित्तलको मिश्रणबाट स्थानीय औजारको प्रयोग गरी यो साँचो बनाइन्छ । स्थानीय आरनमा फलाम तताएर पिटेपछि निश्चित् आकारमा साँचो बनाइने विश्वकर्माको भनाइ छ ।

घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो मानिन्छ । यो आधुनिकभन्दा केही ठूलो आकारको पनि हुन्छ । यस क्षेत्रमा २०१० सालबाट साँचो उत्पादन हुने गरेको इतिहास भेटिन्छ । स्थानीय चन्द्रवीर विश्वकर्मा लगायतले बगनासे साँचोको सुरुआत गरेका थिए ।

पुस्ता हस्तान्तरण एवं संरक्षणको अभावले गर्दा अहिले लोपन्मुख हुने अवस्था पुगेको उहाँहरुको भनाइ छ । बजारमा आधुनिक साँचो आउनु अगाडि प्रचुर मात्रामा बगनासे साँचोको बिक्री वितरण हुने गरे पनि पछिल्लो समयमा अन्य देशबाट आएका आयातित साँचोले गर्दा माग घट्न गएको टेकबहादुरको भनाइ छ ।

“उमेर छँदा एकै दिनमा तीन वटासम्म बनाउन सकिन्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले मुस्किलले एक दिनमा एउटा तयार गर्छु ।” यहाँका ८÷१० घरमा स्थानीय आरन थिए । दैनिक ३० देखि ५० साँचो उत्पादन हुनेगर्दथे ।

जिल्लाका बराङ्ग्दी, खानिगाउँ, चापपानी, यम्घा, दर्लमदेीख जिल्ला बाहिरसम्म साँचो निर्यात हुने स्थानीय रवीलाल विश्वकर्माको भनाइ छ । साँचोको उत्पादनमा निरन्तरताका लागि यहाँको बगनासकाली गाउँपालिकाले सामान्य पहल गरे पनि त्यो पर्याप्त नभएको उहाँहरुको भनाइ छ ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पालिकाका सबै सरकारी कार्यालयले अनिवार्य प्रयोग गर्नुपर्ने नियम बसालिएको बताउनुभयो । चिदीका अनुसार गाउँपालिकाले उत्पादन लागत घटाउन ग्रेण्डर, वेल्डिङ मेसिन, घनलगायतका सामग्री सहयोग गरेको छ ।

नयाँ प्रविधिको प्रयोगबाट लागत मूल्य घटाउन र बजारीकरणमा ध्यान दिन स्थानीय तहको ध्यान जान नसकेको स्थानीयवासीको भनाइ छ । पाल्पामा परम्परागत सीप र प्रविधिको प्रयोगबाट पाल्पाली करुवा, माटाका भाँडा, फलामका औजार उत्पादन हुदै आएका छन् ।

प्रतिक्रिया