गण्डकी प्रदेशका हेभिवेटः को को भए निर्वाचित ?

admin

पोखरा, ९ मंसिर : गण्डकी प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभाव छेड्न सक्ने ‘हेभिवेट’ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसम्म निर्वाचित भए ।

प्रचण्ड गोरखाबाट निर्वाचित हुँदा केसी बागलुङबाट सांसदमा निर्वाचित भए । लमजुङबाट एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बाजी मारे । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन् भने नवलपुरबाट कांग्रेस नेता डा. सशांक कोइरालाले लगातार चौंथो पटक निर्वाचन जिते । बागलुङबाट शिक्षामन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेल विजयी भएका छन् ।

प्रचण्ड पहिलो पटक गण्डकीबाट चुनाव जितेका हुन् । गोरखा २ बाट चुनाव लडेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार भन्दा बढी मत अन्तरले हराए । रामचन्द्र पौडेलले तनहुँ १ बाट एमालेका एकबहादुर रानालाई ६ हजार मतान्तरले हराए ।

गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ लमजुङबाट चुनाव जितेका छन् । उनले माओवादी केन्द्रका महासचिव देव गुरुङलाइ ३ हजार २ सय भन्दा बढी मत अन्तरले पराजीत गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ १ मा एमालेका सूर्य पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराउँदै संसद यात्रा तय गरेका छन् ।

नवलपुर क्षेत्र १ बाट कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले जीत दोहो¥याए । उनले एमालेका कृष्ण पौडललाई करिव २ हजार मत बढी ल्याएर हराएका हुन् । बागलुङ २ बाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले उम्मेद्वार मन्जु शर्मालाई ३ हजार बढी मतान्तरले पराजीत गरे ।

गण्डकीबाट प्रतिनिधिसभाका लागि १८ क्षेत्रमध्ये हालसम्म १७ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भैसकेको छ । हालसम्म नेपाली कांग्रेसले ९ सीटमा चुनाव जितेको छ भने एमालेले ५ सीटमा जित निकाल्यो । २ सीटमा माओवादी र १ सीटमा जनमोर्चा विजयी भएको छ ।

प्रतिक्रिया