आज विश्व एड्स दिवस : नेपालमा नयाँ एचआईभी सङ्क्रमणदर घट्यो

admin

काठमाडौं, १५ मंसिर : आज ३५औँ विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मने गरिन्छ ।

एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ ।

दुई दशकमा नयाँ एचआईभी सङ्क्रमणदर झण्डै ८४ प्रतिशतले घटेको छ । त्यस्तै एड्सका कारण हुने मृत्यु ७१ प्रतिशतले घटेको छ । असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिन्छ । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छ ।

दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नियमित रुपमा एन्टीरेट्रो भाइरल औषधि खाने गरेमा एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ्य जीवनयापन गर्न सक्छन् । सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टीरेट्रोभाइरल उपचार सेवा दिँदै आएको छ।

प्रतिक्रिया