धनुषा, २८ मङ्सिर : निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र धनुषा २ का नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले पुनः मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दिनुभएकाे छ । आज बुधवार यादव र अरगरियाले छुट्टाछुट्टै रिट दिनुभएकाे हाे ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै यादवले दोहोर्याएर मत गन्न माग गर्नुभएकाे छ । रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठलाई विपक्षी बनाइएको छ ।
यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ । यस्तै अरगरियाले धाँधली भएको दाबीसहित पुनः मतगणनाको माग गरेर रिट दायर गर्नुभएकाे छ । उहाँले धाँधली गरेर कांग्रेसका रामकृष्ण यादवलाई जिताएकाे दाबीसहित निर्वाचन अधिकृतकाे कार्यालयविरुद्ध रिट दायर गर्नुभएकाे हाे ।
यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ । धनुषा ४ बाट नेकपा एमालेका उम्मेदवार महासेठ निर्वाचित हुँदा यादव पराजित हुनुभएकाे थियाे । धनुषा २ बाट कांग्रेस उम्मेदवार रामकृष्ण यादवसँग अरगरिया पराजित हुनुभएकाे थियाे ।