राप्रपालाई सरकारमा जान हतारो छैन : अध्यक्ष लिङ्देन

admin

काठमाडौँ, ४ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् ।

उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए ।

उनले आफूहरू मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे । अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे ।

पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे ।

अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिए ।

दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । उनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए ।

प्रतिक्रिया