काठमाडौँ, ६ पुस : सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ ।
लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । जससँगै उनलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो ।
नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै यस मुद्दाको किनारा नलागेसम्म लामिछानेको सांसद्को सपथसमेत रोक्न माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए । उनीहरुले अन्तरिम आदेश माग गर्दै लामिछानेको सांसद पद खारेज गर्नुपर्ने जिकीर गरेका थिए ।
तर, बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । उनीहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सपथ खुवाउने छन् । त्यसकारण जबराले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिन लागेका छन् ।