फिफा वरीयतामा नेपाल यथावत्, विश्व कप जितेकाे अर्जेन्टिना दाेस्राे स्थानमा उक्लियाे

admin

काठमाडौं ,पुस ७ : विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५ औँ स्थानमा यथावत् रहेको हो ।

नेपाल अघिल्लो महिना पनि एक सय ७५ औँ स्थानमै थियो । नयाँ वरीयताअनुसार दक्षिण एसियामा भारत एक सय छ औँ स्थानमा रहँदै पहिलाे स्थानमा छ । यस्तै माल्दिभ्स एक सय ५६ औँ, भुटान एक ८५ औँ, बङ्गलादेश एक सय ९२ औँ, पाकिस्तान एक सय ९५ औँ र श्रीलङ्का दुई सय सातौँ स्थानमा छ ।

फिफा वरीयताअनुसार कतार विश्व कप जितेकाे अर्जेन्टिना एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा आइपुगेकाे छ । विश्व कपको क्वार्टर–फाइनलमा क्राेएसियासँग पराजित ब्राजिल शीर्ष स्थानमा यथावत् छ । यस्तै विश्व कप उपविजेता फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।

बेल्जियम चौथो स्थानमा झर्दा इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा रहेकाे छ । यस्तै नेदरल्यान्ड्स, क्रोएसिया, इटली, पोर्चुगल र स्पेन शीर्ष १० मा रहेका छन् ।

प्रतिक्रिया