काठमाडौँ, २५ पुस : प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते सम्पन्न आम निर्वाचन पछि निर्वाचित सांसदहरुको पहिलो बैठक बस्न लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अविवेशन पुस २५ अर्थात आजका लागि आह्वान गरेकी थिइन् । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
आजको बैठकको अध्यक्षका रुपमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणा रहने छन् । बैठकको प्रारम्भमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयद्वारा पठाइएको प्राप्त पत्र पढेर सुनाइने तालिका छ ।
त्यस्तै राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाइने छ ।
संसदको पहिलो बैठक भएकाले पार्टीका शीर्ष नेताहरुले शुभकामना दिनेछन् । आजको पहिलो बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले शुभकामन राख्ने तयारी भइरहेको छ ।
आजको बैठकपछि भोलि अर्थात पुस २६ गते नै प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदैछन् । उनी एमालेसहित ७ दलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।