काठमाडौँ, २७ पुस : माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ।
नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुवाँकोटले मेलाको आयोजना गरेको हो। परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाँकोटको भङ्गेरीमा यस वर्ष १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए।
“धुवाँकोटमा पहिलादेखिनै गोरु जुधाइने गरिएको थियो, केही वर्ष रोकिएको गोरु जुधाईलाई २०७१ सालदेखि व्यवस्थितरुपमा आयोजना गर्दै आएका छौँ”, उनले भने। धुवाँकोट ऐतिहासिक महत्वका नौमध्ये एउटा महत्वपूर्ण कोट हो। विशेष गरी धुवाँकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा मद्दत पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रका सदस्य सुमन अधिकारीले बताए।
गोरु जुधाउन उमेर, आकार र क्षमता हेरेर चार समूहमा विभाजन गरिएको अधिकारीले बताए। पहिलो समूहमा तीन हल गोरु, दोस्रो समूहमा छ हल तथा तेस्रो र चौथो समूहमा चार÷चार हल गोरु रहेका छन्।
पहिलो समूहको विजेता गोरुको धनीले रु १२ हजार, उपविजेता गोरुको धनीले रु १० हजार, दोस्रो समूह विजेता र उपविजेताले क्रमशः रु १० हजार र रु आठ हजार तथा तेस्रो समूहले रु आठ हजार र रु छ हजार पाउने छन्। त्यस्तै चौथो समूहको विजेता गोरुको धनीले रु चार हजार र उपविजेता गोरुको धनीले रु दुई हजार पुरस्कार प्राप्त गर्ने छन्।
गोरु जुधाइने स्थान नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट भङ्गेरी धादिङबेँसीबाट १२ किलोमिटरको दूरीमा पर्छ। गोरुलाई माघे सङ्क्रान्तिमा जुधाएर मनोरञ्जन लिने चलन धादिङ, नुवाकोट र रसुवामा पाइन्छ। बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि सुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्ला वर्षमा धादिङमा पनि सुरु भएको छ।