काठमाडौं, ३० पुस : आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । यी क्षेत्रमा पनि दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुस्सु र कुहिरो लागेका ठाउँमा जनजीवन प्रभावित हुँदै आएको छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरु ठाउँको मौसम आज सफा नै छ ।
तत्कालका लागि वर्षा र हिमपातको सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।