काठमाडौँ, ७ माघ : यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको छ । मौसम विज्ञान विभागको तथ्यांक अनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।
सन् १९९१ देखि सन् २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शुन्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्यांक छ । अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव १ मिलिमिटर पानी परेको थियो ।
नेपालमा मंसीर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिन्छ । यस वर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकोले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले बताउनुभयो ।
हिउँदमा पानी कम पर्दा सुख्खा बढेको छ । यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुको साथै वहुआयामिक असर पर्ने जलवायु एवम् विपतविज्ञ उप्रतीले बताउनुभयो । हिउँदमा पानी कम पर्दा पानीका मुहानहरु सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्ने लगायतका समस्या आउने उप्रेतीले बताउनुयो ।
यसैबीच आउँदो सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहिबार सम्म काठमाण्डौ लगायतका क्षेत्रमा सामान्यदेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । हिमाली भेगमा भने मंगलवारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।