सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ : अध्यक्ष नेपाल

admin

काठमाडौँ, ९ माघ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उहाँले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिनुभयो । अध्यक्ष नेपालले सङ्गठनले नेपालमा रहेका मुस्लिम समुदायका अवस्था तथा उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा मोर्चा फाँट प्रमुख विजय पौडेलले उक्त समुदायमा हुने गरेका अन्याय, अत्याचारका विरुद्ध सङ्गठनले देशभर अभियान सञ्चालनमा सक्रियता देखाउनुपर्ने बताउनुभयो ।

पार्टीका अर्का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठनले पार्टी केन्द्रीय कार्यालयमा आफ्नो सुझाव पेस गर्दा प्रचार विभागलाई समेत जानकारी गराउँदा त्यसको प्रचारप्रसारमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाँको अध्यक्षतामा बसेको बैठकले सचिवालयको बैठक आगामी फागुन १५ गतेभित्र अधिवेशन सम्पन्न गर्ने, प्रदेश कमिटीको बैठक यही माघ मसान्तभित्र सम्पन्न गर्ने, जिल्ला भेला आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने, नयाँ सदस्यता वितरण कार्य फागुनदेखि सुरु गर्ने, विधान मस्यौदा तत्काल छपाइ गर्ने र सदस्यता पत्र छपाइ कार्य अघि बढाउने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको इञ्चार्जमा मोहम्मद अब्दुल र कर्णाली प्रदेशको इञ्चार्जमा अनारकली मियाँलाई जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया