मिटरब्याजमा नयाँ शैली अपनाइँदै

admin

काठमाडौं, १२ माघ : मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ ।

कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ ।

चारकोठे पक्की घरसहित दुई कट्ठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको नाममा आफ्नो घरजग्गा देखिएपछि उहाँ झसङ्ग हुनुभएको थियो । मालपोत कार्यालय चन्द्रौटाले सो जग्गा रुपिन्द्रप्रसाद आचार्यका नाममा रहेको बताएपछि उनले आचार्यको खोजी सुरु गरे ।

नगरपालिकाको वडा नं। ५, खैरीमा हरियाली आचार्य होटेल सञ्चालक रहेका आचार्यसँग भेट भएपछि मात्र उनले पति देउमन बुढाले पैसा लिएको र त्यही पैसाका आधारमा आफ्नो उठिबास भएको थाहा पाइन् ।

रुपिन्द्रले देउमनको नाममा रहेको शिवपुर ९(ख) कित्ता नं। १६ (एक कट्ठा चार घुर) र कित्ता नम्बर १०९६ (१६ धुर) जग्गा दुई लाख ५० हजार रुपियाँमा २०७६ मङ्सिर ९ गते घरखर्चबापत बिक्री गरिएको राजीनामा पत्रले देखाएको छ । सो क्षेत्रमा प्रतिकट्ठा ३० लाख रुपियाँका दरले कारोबार हुँदै आएको छ । डिल्लीले देउमनका साथी प्रकाश रोक्कामगरसँग सोधपुछ गर्दा सो रकम रुपिन्द्रसँग लिएको थाहा पाइन् । जग्गा नामसारी गराएका रुपिन्द्रसँग देउमनको नाममा रहेको गरिमा विकास बैङ्कको सादा चेकसमेत रहेको डिल्लीले बताइन् ।

प्रकाशले दुई लाख ५० हजार कर्जा लिएको बताए पनि रुपिन्द्रले कर्जा लिएको रकम बैङ्क खाता हेरेपछि थाहा हुने बताइएको थियो । देउमनको गरिमा विकास बैङ्कमा रहेको खातामा २०७७ मङ्सिर २० गते रुपिन्द्रको नामबाट छ लाख ५० हजार रुपियाँ जम्मा भएको देखिन्छ । खाताबाट पाँच दिनपछि छ लाख रुपियाँ चेकमार्फत निकालिएको छ । देउमनको हस्ताक्षर रहेको सादा चेक रुपिन्द्रसँग भएको हुँदा सो रकम निकालिएको समेत शङ्कास्पद देखिन्छ ।

गत साउनमा प्रकाशको मृत्यु भएपछि रुपिन्द्रले १२ लाख रुपियाँको चेक देखाउँदै असारसम्म भाका रहेकाले २० लाख दिए जग्गा पारित गर्ने बताएको डिल्लीले बताइन् । बाख्रा पालेर जीविकोपार्जन गर्दै आएकी डिल्लीको आर्थिक अवस्था कमजोर भएका कारण रकम तिर्न नसक्ने अवस्था छ ।

सामान्य लेखपढ गर्न जानेका देउमनलाई दृष्टिबन्धक गराउने भनी रुपिन्द्रले लगेको मृत्युअघि प्रकाशले बताएका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया