मोदीलाई ग्रेटर नेपालले भन्यो, गुन्जी इन्डियाको होइन

admin

काठमाडौँ, १२ माघ : प्रत्येक वर्ष जनवरी २६ का दिन आफ्नो सार्वभौम क्षेत्रमा इन्डियाले गणतन्त्र दिवस मनाउँदा नेपालले बधाई तथा शुभकामना दिँदै आएको छ, तर नेपालको जमिन कब्जा गरी त्यहाँ सेना तैनाथ गरेर गणतन्त्र दिवस मनाउँदा नेपालीहरूले यसलाई साधारण रूपमा लिन्छन् भन्ने सोच्नु इन्डियाको भयानक भूल हो र यसलाई इन्डियाले जतिसक्दो चाँडो सच्याउनुपर्छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको यो माग र नेपालीको आवाजलाई हलुका रूपमा नलिइयोस् भन्ने आग्रहका साथ इन्डियाको ७४ औँ गणतन्त्र दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई ५ बुँदे ज्ञापनपत्र पठाएको छ ।

नेपालका प्रधानमन्त्रीका अतिरिक्त पाकिस्तान,बङ्गलादेश, श्रीलङ्का,भुटान , अफगानिस्तान , माल्दिभ्सका साथै सार्क सचिवालयलाई बोधार्थ दिइएको ज्ञापनपत्र
नेपालको अविभाज्य भूभाग गुन्जीलाई Vibrant Village बनाउने इन्डियाको केन्द्रीय सरकारको योजनाले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई खुला चुनौती दिएको विरोधमा इन्डियाका प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बताएका छन् ।

मोर्चाले ज्ञापनपत्रमार्फत् `नेपालको सार्वभौमसत्तासम्पन्न भूमि गुन्जीलाई कब्जा गरी त्यो गाउँमा इन्डियाको Vibrant Village Project सञ्चालन गर्नु एकातिर हास्यास्पद हो भने अर्कातिर भयावह पनि ।

क्षेत्रफलका हिसाबले सानो र सैनिकसंख्या कम भएको भन्दैमा नेपालको भन्दा इन्डियाको सार्वभौमसत्तालाई ठूलो मान्न सकिँदैन र यो सार्वभौमसत्ताको अन्तर्राष्ट्रिय परिभाषा पनि होइन । अत: गुन्जीलाई इन्डियाको Vibrant Village Project मा समावेश गर्ने योजना रद्द गरी गुन्जीमाथिको नेपालको सार्वभौमसत्ताको उच्च सम्मान गरियोस् ‘ भन्ने माग गरेको छ ।

नेपालका प्रधानमन्त्रीका अतिरिक्त पाकिस्तान, बङ्गलादेश,श्रीलङ्का,भुटान , अफगानिस्तान र माल्दिभ्सका साथै सार्क सचिवालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा मोर्चाले भनेको छ, `नेपाल र इन्डियाका प्रधानमन्त्रीहरूले यी दुई देशका बीचको सम्बन्धलाई अद्वितीय भने पनि व्यवहारमा त्यस्तो बिलकुलै देखिँदैन र अद्वितीय भन्ने लवज केवल एउटा भावुक पदावली बनेर रहेको छ । ‘ २०२२ को इन्डियाको बजेटमा गुन्जी गाउँमा भारू २ अर्ब खर्च गर्ने भनिएको थियो । यसबारे नेपाल सरकार मौन रहँदै आएको छ ।

प्रतिक्रिया