प्रेम आचार्य आत्मदाह प्रकरण : वक्तव्यमा उल्लेख गरेका व्यक्तिसँग प्रहरीको सोधपुछ

admin

काठमाडौँ, १८ माघ : इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुअघि दिएको वक्तव्यमा उल्लेख गरेका व्यक्तिहरुसँग प्रहरीले अनुसन्धान थालेको छ ।

भाटभटेनी सुपर मार्केटसहित विभिन्न १२ वटा पक्ष वा व्यक्तिहरूमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने छ ।

आत्मदाह अघि आचार्यले फेसबुकमा पोष्ट गरेको ६ हजारभन्दा लामो स्ट्याटस र उनकी पत्नीले दिएको किटानी जाहेरीलाई आधार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको हो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग गत सोमबार प्रहरीले बयान लिएको छ । यस्तै, एनआरएनका संस्थापक अध्यक्ष एवं व्यवसायी उपेन्द्र महतोसँग मंगलबार बयान लिइएको छ ।

उपेन्द्र महतो र डा.समता प्रसादले चलाएको नेपाल ग्रामोध्योग कम्पनीलाई बेचेको घ्यूको पैसा उनीहरुले नदिएको आरोप आचार्यले लगाएका थिए ।

यस्तै, सुजुकी गाडी विक्रेता कम्पनीका प्रमुख कार्यकारी र नक्सालस्थित शान इन्टरनेशल कलेजका अध्यक्ष सुवास आचार्यसँग पनि प्रहरीले बयान लिएको छ । प्रहरीले बुधबार थप अन्य व्यक्तिहरुसँग बयान लिने बताएको छ ।

प्रतिक्रिया