रवि लामिछानेको सांसद पद खारेज भएको संसद्लाई जानकारी

admin

काठमाडौँ, १८ माघ : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराउनुभएको छ ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ । लामिछाने गत चुनावमा चितवन–२ बाट निर्वाचित हुनुभएको थियो । सभामुख घिमिरेले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराउनुभएको हो ।

सांसद पद रिक्त रहेको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ मा पनि छ । संवैधानिक र कानूनी व्यवस्था अनुसार सभामुख घिमिरेले लामिछानेको पद रिक्त भएको प्रतिनिधिसभालाई जानकारी गराउनुभएको हो ।

सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकलाई गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले सम्हालिरहेको जानकारी गराउनुभएको छ । चितवन – २ बाट निर्वाचित सांसदको पद गुमेसँगै निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ । ६ महिना भन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएका उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

यसैबीच, प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९)’ पेस भएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसदमा पेस गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया