स्वास्थ्य क्षेत्रमा सुधारको अठोट लिएको छु : स्वास्थ्यमन्त्री गिरी

admin

चितवन, २१ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने अठोट लिएर आएको बताउनुभएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै गिरीले समस्या विकराल भए पनि समाधान गर्ने अठोट व्यक्त गर्नुभएको हो ।

उहाँले स्वास्थ्य क्षेत्रमा कूल बजेटको पाँच दशमलव ७४ प्रतिशत मात्रै बिनियोजन भएको भन्दै समस्या समाधानका लागि यो बजेट अत्यन्त न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने अठोटका साथ मन्त्रालयमा आएको छु ।”

उहाँले बिनियोजित बजेटको सीमाभित्र बसेर स्वास्थ्य क्षेत्रमा देखिएको ठूलो समस्या समाधान गर्नुपर्ने स्थिति भएको भन्दै थप बजेट आवश्यक भएको बताउनुभयो ।

अहिले पनि गुणस्तरीय स्वास्थ्य सेवा आम नेपालीसम्म पु¥याउने विषय चुनौतीको विषय भएको भन्दै मन्त्री गिरीले भन्नुभयो, “पैसाको अभावमा अस्पताल जान नपाएका जनतासम्म पुगेर गुणस्तरीय स्वास्थ्य सेवा दिने विषय पहिलो प्राथमिकता हो ।”

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले अस्पतालले पछिल्लो समय गरेका उपलब्धी र भएका समस्याका बारे मन्त्री गिरीलाई जानकारी गराउनुभयो ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले विदेशी दाताको सहयोगमा ठूलो मात्रामा औषधि र अन्य उपकरण बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको सो अवसरमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया