राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने कांग्रेसको दुराशय देखियो: केपी ओली

admin

काठमाडौँ, २२ माघ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने कांग्रेसको दुराशय देखिएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा ओलीले स्वार्थका लागि कांग्रेसले सरकार विश्वासको मत दिएको र राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने कांग्रेसको दुराशय देखिएको बताउनुभएको हो ।

ओलीले अनिश्चय र अस्थिरताको बिउ रोप्न खोजे कांग्रेसका लागि प्रत्युपादक हुन सक्ने धारणा राख्नुभयो । ओलीले प्रतिपक्षमा पुगे पनि कांग्रेसले प्रतिपक्षी अस्तित्व स्वीकार गर्न नसकेको र सत्ता बाहिरबस्नुपर्दा अतालिएको तर्क गर्नुभयो ।

सत्ता बाहिर हुँदा सत्तामा बिग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग रहेको पनि उहाले बताउनुभयो । एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारका बेला मुलुकमा आर्थिक लगाएत बिभिन्न समस्या देखिएको र आर्थिक सुचकांकहरुपनि कमजोर रहेको भन्दै यसको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउनुभयो ।

निर्वाचनको मतपरिणाम आएपछि राजनीतिक निकाश दिन एमालेले सरकार गठनको पहल लिनु पर्ने अवस्था आएको उहाले बताउनुभयो । उहाले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको बहस गरेर सत्ता समिकरणमाथि प्रहार गर्न खोजिएको बताउनुभयो ।

राष्ट्रिय सहमति गर्नेभए राष्टियता, विकास, सुशासन, राहत सहुलित पु¥याउने सवालमा सहमति गर्नुपर्ने उहाको भनाइ छ । त्यस्तै ओलीले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको र यसका कारण धेरै क्षति भएको बताउनुभयो ।

असम्बन्धित व्यक्तिले दिएको निवेदनको फैसलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको भन्दै उहाले कुनै नागरिक राज्यको प्रहारको विषय हुन नहुने बताउनुभयो ।

उहाले राजनीतिक मुद्धाहरु फिर्ता दिने र राजवन्दीहरुको रिहाईको बिषयलाई छिटो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । ओलीले अहिले देशको विकास र सुशासन चाहिएकाले त्यही काम गर्न वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई तलमाथि पार्न कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा नहुने धारणा राख्नुभयो । अध्यक्ष ओलीले देशको आर्थिक अवस्था सुधारका लागि वर्तमान सरकारले काम सुरु गरिसकेको र आर्थिक समृद्धिका लागि सरकारको स्थिरता अनिवार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया