केपी ओली कप : खेल तालिका सार्वजनिक

admin

काठमाडौँ, २९ माघ : फागुन ११ गतेबाट सुरु हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको तालिका सार्वजनिक गरिएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ ।

खेल ३ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जनकारी दिनुभयो । प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ ।

’ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया