काठमाडौँ, ७ फागुन : सत्ता साझेदारको प्रमुख शक्ति नेकपा एमालेले बालकोट बोलाएर प्रधानमन्त्री बनाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन निकै सकस देखिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि साँझ सहमतिको एजेन्डा लिएका प्रधानमन्त्री प्रचण्डलाई मनाएर राष्ट्रपति हात पार्न एमाले अध्यक्ष केपी ओलीलाई सकस परेको हो ।
बिहीबार अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई बीसौंपटक भेट गर्नुभयो । उहाँले सरकार गठन (पुस १०)यता सरकार सञ्चालन र राष्ट्रपतिको निर्वाचनका विषयमा प्रचण्डलाई २० पटक भेट गरिसक्नुभएको एमाले ओली निकट स्रोतले पुष्टि गरेको छ ।
राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच पछिल्लोपटक बिहीबार बालुवाटारमा करिब २ घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरि तिमल्सिनाले जानकारी दिनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।