काठमाडौँ, १३ फागुन : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति चुनावबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताउनु भएको छ ।
उहाँले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि आफूले ८ राजनीतिक दलहरुसँग सहमति गरेर अघि बढ्नु परेको दाबी गर्नुभयो ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने निर्णय लिएको बताउनुभयो ।