काठमाडौं, फागुन १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न महत्वपूर्ण ९ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हालेर बसेका छन् ।
प्रधानमन्त्रीले सम्हालेका गृह, शिक्षा, श्रम रोजगार तथा वन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालय यतिखेर कामचलाउजस्ता देखिएका छन् ।
यस अतिरिक्त प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि आफैंसँग राखेका छन् ।
प्रधानमन्त्रीले सम्हालेका प्रायः सबै मन्त्रालयको कार्यसम्पादन मन्त्रीको अभावमा कमजोर देखिन थालेको मन्त्रालयका अधिकारीको भनाइ छ ।
‘मन्त्रालयमा मन्त्री नहुँदा स्वाभाविक असर पर्छ, प्रधानमन्त्री आफैं मन्त्रालयमा आउने कुरा भएन्, त्यसैले अहिले मन्त्रालयको काम प्रभावकारी हुन सकेको छैन,’ मन्त्रालयका एक सचिवले राजधानीसँग भने । ती मन्त्रालयको कामकारबाहीमा समेत समस्या परिरहेको बताइन्छ । मन्त्रालयमा मन्त्रीले विभिन्न नीतिगत योजना र कार्यक्रम ल्याउन नियमित रूपमा छलफल समेत गर्नुपर्नेहुन्छ ।
हाल प्रधानमन्त्रीले सम्हालेका नौवटा मन्त्रालयमा त्यस प्रकारका छलफल र नीति निर्माणलगायतका कार्यक्रम अवरुद्ध भएको हो । प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेका मन्त्रालयका सचिवले मन्त्रालयको कुनै पनि नीतिगत निर्णय लिनुपरेमा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार धाउनुपर्ने अवस्थासमेत छ । सिंहदरबारमा समेत सचिव प्रधानमन्त्रीलाई भेट्न लाइन लाग्नुपर्ने अवस्था रहेको बताइन्छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।