चार सञ्चारकर्मीलाई डाँडापारी पत्रकारिता पुरस्कार

राष्ट्रिय समाचार समिति

काभ्रेपलाञ्चोक, १५ फागुन : यहाँका चार सञ्चारकर्मीलाई डाँडापारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकले जिल्लाको दुर्गम मानिएको डाँडापारी क्षेत्रका समाचारलाई प्राथमिकताका साथ प्रकाशन–प्रसारण गरेको जनाउँदै उनीहरूलाई पुरस्कार प्रदान गरेको हो ।

विविध कारण चार वर्षदेखि रोकिएको स्व उर्मिला स्मृति डाँडापारी पत्रकारिता पुरस्कार आज एक कार्यक्रमका बीच प्रदान गरिएको युनियनले जनाएको छ ।

पुरस्कार प्राप्त गर्नेमा नयाँ पत्रिका दैनिकको सम्वादाता इन्द्रबहादुर थापा, कान्तिपुर दैनिकको सम्वाददाता ज्योति श्रेष्ठ, लाहाछाप डटकममा कार्यरत सुनिता सापकोटा र स्थानीय बेथानचोक साप्ताहिक प्रकाशक सरोज अधिकारी हुनुहुन्छ ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इं र युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले दोसल्ला ओढाइ नगद जनही रु पाँच हजार पाँच सय ५५ को पुरस्कार प्रदान गर्नुभयो ।

उच्च शिक्षा अध्ययनका क्रममा फागुन १५ गते सवारी दुर्घटनामा ज्यान गुमाएकी उर्मिलाको सम्झनामा परिवारले युनियनसँगको सहकार्यमा कोष स्थापना गरी विगत १४ वर्षदेखि वर्षेनी उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

युनियनको केन्द्रीय अध्यक्षमा निर्वाचित शिव लम्साल, महासचिव पौडेल, बागमती प्रदेश अध्यक्षमा नवनिर्वाचित युवराज पुरीलगायत काभ्रेपलाञ्चोकबाट प्रदेश सदस्यमा निर्वाचितलाई सम्मान गरिएको थियो ।

पत्रकारिता पुरस्कारका संरक्षकसमेत रहनुभएका हुमागाईंले पत्रकारिता दुर्गम क्षेत्रको विकासको सम्वाहक बन्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार न्यूनीकरणमा सञ्चारकर्मीले अहम् भूमिका निर्जाह गर्नुपर्ने बताउनुभयो ।

पौडेलले जवाफदेही एवं उत्तरदायी ढङ्गले पत्रकारिता गर्न सञ्चारकर्मीसमक्ष आग्रह गर्दै पत्रकारिता नै ‘डिरेल’ भइरहेको छ कि चनाखो बन्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईं, क्षेत्रीय सभापति दिनेश लामा, प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, युनियनका पूर्वजिल्ला अध्यक्ष नारायण सापकोटा तथा सल्लाहकार भोला थापा, पत्रकार महासङ्घका जिल्लाध्यक्ष बद्रिराज तिमल्सिना, प्रेस सेन्टरका जिल्लाध्यक्ष रोजन तामाङलगायतले पुरस्कृत एवं युनियनमा निर्वाचित सञ्चारकर्मीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया