काठमाडौँ, फागुन १६ : यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो।
सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ। हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो।
मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकैरुपमा लिइन्छ। तर, यो वर्षा प्रि–मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद् नै द्विविधामा छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले यो वर्ष ढिलोगरी हिउँदे वर्षा भएको बताइन्।
उनले मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकै रुपमा गणना गरिने भएकाले आइतबार भएको वर्षा हिउँदे वर्षा नै भए पनि यसको प्रकृति प्रि–मनसुनको जस्तो अर्थात् मेघगर्जन र चट्याङसहितको वर्षा भएको उनले उल्लेख गरिन्।
‘हिउँदयामको अन्तिममा थोरै भए पनि वर्षा भयो, यसले किसानलाई राहत मिलेको छ, तर यो वर्षाको प्रकृति हेर्दा प्रि–मनसुनको वर्षा जस्तो छ।
हिउँदयाममा चट्याङ र असिनारहितको वर्षा भएको छ’, मौसमविद् कँडेलले भनिन्। नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिन प्रि–मनसुन मानिन्छ। यो वर्ष फागुन १६ सम्मलाई हिउँद याम मानिने उनले बताइन्। याे खबर नागरिक दैनिकमा छ ।