काठमाडौँ, फागुन १६ : बितेका सात महिनामा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड बाँडेको छ ।
चालू आर्थिक वर्षको बितेको सात महिना गत साउनदेखि माघ मसान्तसम्ममा सरकारले १ सय ३९ जनालाई ‘व्यक्तिगत’ आर्थिक सहायतास्वरूप कुल ५ करोड ४६ लाख ३४ हजार वितरण गरेको हो ।
सरकारले बाँडेको रकम लिनेमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललगायत छन् । अर्थ मन्त्रालयद्वारा सोमबार सार्वजनिक बितेका ७ महिनाको तथ्यांकअनुसार सरकारले झन्डै साढे ५ करोड बाँडेको छ ।
गत ३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई औषधि उपचार खर्चबापत २५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।
त्यस्तै, मंसिरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ राहतस्वरूप दिइएको छ । गत ३१ भदौमा तथा ७ असोजको निर्णयअनुसार सो रकम वितरण गरिएको उल्लेख गरिए पनि पूर्वप्रधानमन्त्री खनाललाई ‘कुन प्रयोजनका लागि रकम उपलब्ध गराइएको हो’ भन्ने उल्लेख छैन । याे खबर राजधानी दैनिकमा छ ।