राष्ट्रपति निर्वाचनले बागमतीमा हलचल

admin

काठमाडौँ, २६ फागुन : बिहीबार देशले नयाँ राष्ट्रपति पाएपछि त्यसको सोझो प्रभाव मुलुकको ठूलो प्रादेशिक संसद् बागमतीमा पर्ने देखिएको छ ।

१० राजनीतिक दलको समर्थनमा राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएसँगै अब प्रदेशको सत्ता समीकरण परिवर्तन हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँगको सहकार्यमा पाँच दलीय गठबन्धन बनाएर प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई महिनामै नयाँ गठबन्धन टुटाएर पुरानै आठ दलीय गठबन्धन ब्युताउँदा बागमतीको राजनीतिक अवस्था परिवर्तनको संघारमा आएको हो ।

केन्द्रमा सरकारबाट बाहिरिसकेको अवस्थामा प्रदेशमा भने राष्ट्रपति निर्वाचनसम्म ‘पर्ख र हेर’ को भरमा सरकार नछाडेको एमालेले अब के गर्ला भन्ने चासोको विषय बनेको छ । राष्ट्रपति निर्वाचनको निर्वाचन परिणामपछि पनि एमालेले आफ्नो मौनता तोडेको छैन ।

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनले बागमतीमा एमालेका ४ मन्त्रीको भविष्य निर्धारण गर्नेछ । राप्रपा, एमाले र माओवादी मिलेर सरकार गठन हुँदा एमालेको भागमा ४ मन्त्रालय र उपसभामुखको भाग परेको थियो । एमालेकी अप्सरा चापागाईं उपसभामुखको जिम्मेवारीमा हुनुहुन्छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया