माओवादी एकता प्रयासमा धक्का  !

admin

काठमाडौं , चैत १ : विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए ।

दाहालविरुद्ध मुद्दा लगाएर द्वन्द्वकालीन घाउ ब्युँताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर प्रतिकार गर्ने उद्घोष गरेका थिए ।

तर संक्रमणकालीन न्यायबारे उनीहरूले मंगलबार गर्ने भनेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तक्र्रिया अचानक स्थगित भएको छ । कार्यक्रम समय र स्थान व्यवस्थापन हुन नसक्दा स्थगित भएको बताइए पनि माओवादीका विभिन्न घटकका नेताहरू नै आउन आनाकानी गरेपछि स्थगित गर्नुपरेको स्रोतको दाबी छ ।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्तिसम्झौताबारे संयुक्त पत्रकार सम्मेलन, नागरिक अगुवा तथा बुद्धिजीविसँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मंगलबारको कार्यक्रम तय भएको थियो ।

यसअघि माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा मोहन वैद्य, गोपाल किराती, धर्मेन्द्र बास्तोला अनुपस्थित भएका थिए ।

नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले स्थान र समय व्यवस्थापन गर्न नसकिएका कारण मंगलबारको अन्तरक्रिया कार्यक्रम स्थगित भएको बताए । ‘यसमा अन्य कारण छैन, समय र स्थान तय हुन सकेन। त्यही भएर स्थगित भएको हो’, उनले भने । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया