स्ववियु निर्वाचनको मौन अवधि सुरू

admin

काठमाडौँ, ३ चैत : चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि बिहीबार रातिदेखि १२ बजेदेखि मौन अवधि सुरू भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको हो ।

निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।

उम्मेदवारहरूले मौन अवधि सुरु भएपछि कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चयन हुनेछन् ।

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।

प्रतिक्रिया