आज प्रतिनिधि सभाको बैठक बस्दै

admin

काठमाडौँ, ५ चैत : प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनेछन्।

उनले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनेछन्।

बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि छ।

बैठकमा सांसद् प्रेम सुवालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०७९ पेस गर्नेछन्।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले नियमावली मस्यौदाको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया