कोशी प्रदेश : नामकरणको विरोध

admin

विराटनगर, ५ चैत : कोशी प्रदेश नामकरणपछि असहमत केही समूहले आफ्ना विरोध निरन्तरता दिएका छन् । उक्त समूह हिंसात्मक विरोधमा उत्रिएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको छ ।

आज विराटनगरमा आयोजित यस्तै विरोधमा सहभागी प्रदर्शनकारीको भीडलाई तितरबितर गर्न प्रहरीले दुई राउन्ड आश्रु ग्यास छोडेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक टीका कार्कीले आज दिउँसो महेन्द्र चोकमा भेला भएका ती समूहको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा अश्रु ग्यास छोड्नु परेको र यसबाट कोही पनि हताहत नभएको बताउनुभयो । अपराह्नपछि विराटनगरको स्थिति सामान्य भए पनि प्रहरी सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयो ।

कोशी प्रदेश नामकरण भएपछि असन्तुष्ट समूहबाट विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय मोरङले केही क्षेत्रमा निषेधित क्षेत्र तोकिएको सूचना जारी गरेको छ ।

जारी सूचनाअनुसार प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार आज बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम निषेध गरिएको छ ।

जिप्रकाले आदेश उल्लङ्घन गरी उल्लिखित कार्यहरू गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया