सत्तामा फर्कियो कांग्रेस

admin

काठमाडौँ, ७ चैत : प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेस ८३ दिनमै सत्तापक्ष बन्न पुगेको छ ।

कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएसँगै कांग्रेस सत्ताबाट बाहिरिएको थियो ।

पुरानो गठबन्धन जोगाउन नसकेको भन्दै आफ्नै पार्टीभित्रबाट सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भएपछि कांग्रेसले पुस २६ गते प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर सहकार्यको हात बढाएको थियो ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सत्ता पक्षको बेन्चमा बसेको कांग्रेस १ २ दिनभित्रै संघीय सरकारमा फेरि सहभागी हुनेछ । सुदूरपश्चिमबाट प्रदेश सरकारको नेतृत्व सुरु गरेको कांग्रेस केही दिनभित्र अन्य प्रदेशमा पनि सहभागी हुने भएको छ ।

सरकारको नेतृत्व सम्हालेको ८४ दिनमा प्रचण्डले प्रतिनिधि सभाबाट सोमबार दोस्रोपटक विश्वासको मत लिएका छन् । प्रतिनिधि सभाका दुई दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्डको विपक्षमा उभिएका छन् । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको छ ।

संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले सोमबार विश्वासको मत लिएका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको धारा १०० को २ मा लेखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया