लाओसमाथि नेपालको शानदार जित

admin

काठमाडौँ, ८ चैत : नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल नेपालले जितेर विजयी शुरुवात गरेको छ।

नेपालले बुधबार भएको खेलमा लाओसलाई २-० गोलले पराजित गरेको हो। त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा बुधबार साँझ भएको खेलमा एशियाली प्रतिद्वन्द्वी लाओसलाई २–० गोल अन्तरले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले १/१ गोल गरे। खेलको ३० औँ मिनेटमा एरिक विष्टले प्रहार गरेको कर्नर किकको सदुपयोग गर्दै अनन्तले हेडरमार्फत आकर्षक गोल गरेर अग्रता दिलाएका थिए।

खेलको ५६ र्औँ मिनेटमा नवयुगले करिब ३५ मिटर टाढाबाट भलीमार्फत प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो। लाओसका गोलरक्षक सेसाभाथ सौभान्शोकलले उक्त बल ठम्याउनसमेत सकेनन्।

जितसंगै नेपालले ३ अंक जोडेको छ। सिंगल राउण्ड रोबिनको आधारमा हुने नेपाल‚ भुटान र लाओस सम्मिलित प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्।

सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र लाओस ७ वर्षपछि फेरि भिड्दैछन्। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले ५ हजार अमेरिकी डलर र दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्।

प्रतियोगिता प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनको एनटिभी प्लसले गर्नेछ। यसअघि नेपालले २०७७ सालमा बंगलादेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

प्रतिक्रिया