आगलागीजन्य विपद्को पूर्वतयारी, स्वयंसेवी तयार पारिँदै

admin

काठमाडौँ, ९ चैत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी–बतास, चट्याङलगायतका अब हुने विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ ।

प्राधिकरणले आज सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रममा आउँदो दुई महिना आगलागी, डढेलो, हावाहुरी, चट्याङजस्ता विपद्को जोखिम बढी हुने भएकाले त्यसको पूर्वतयारीलाई तीव्र पारिएको जानकारी गराएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले आगालागी नियन्त्रणका लागि आवश्यक स्वयंसेवीहरू तयार पार्न अभ्यास जारी रहेको जानकारी दिँदै स्थानीय तह र विपद् व्यवस्थापनका क्षेत्रमा लाग्ने सरोकारवालालाई कसरी सक्षम बनाउन सकिन्छ भनेर कार्य अघि बढाइएको पनि जानकारी दिनुभयो ।

छलफलका क्रममा उहाँले आगलागीको दर बढ्दो रहेकाले त्यसतर्फ विशेषरूपमा सचेत हुन पनि अनुरोध गर्नुभएको छ । पछिल्लो एक हप्ता पानी परेका कारण आगलागी कम भएको तर अब पानी पर्न छाडेपछि यस्ता घटनामा बढोत्तरी हुने भन्दै उहाँले स्थानीय तह अझै चनाखो हुन जरुरी रहेको औँल्याउनुभयो ।

कार्यक्रममा आगलागी तथा डढेलोविज्ञ सुन्दर शर्माले आगलागी नियन्त्रणमा सरकारबाट पर्याप्त बजेट निकासा हुन नसकेको, दक्ष जनशक्ति एवं प्रविधि र उपकरणको अभाव रहेको औँल्याउनुभयो । उहाँले मानवीय कारणले नेपालमा बढी आगलागी हुने गरेको जानकारी पनि दिनुभयो ।

नेपालमा पर्याप्त दमकल नभएकाले अब स्थानीय तहले पनि खरिद गर्न सक्ने फायरपम्पको अवधारणा ल्याउन जरुरी रहेको औँल्याउनुभयो । आजै सिंहदरबारमा फायरपम्पको अभ्यास गरेरसमेत देखाइएको थियो । यसले एक किलोमिटर टाढासम्म बिछ्याएर लैजान सकिने भएकाले साँघुरा स्थानमा समेत फायरपम्प उपयुक्त भएको बताउनुभयो ।

यस्तै हवाई फायर फाइटरको पनि आवश्यकता रहेको बताउँदै उहाँले त्यसलाई ल्याउन नसके ‘बकेट’मात्रै किन्न पाए पनि सेनाको वा निजी हेलिकोप्टरमार्फत ठूला आगलागी नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले स्वयंसेवक ब्यूरोअन्तर्गत विपद् व्यवस्थापनका लागि चाहिने आवश्यक स्वयंसेवीहरू स्वस्फूर्तरूपमा फारम भरेर सहभागी हुनसक्ने बताउनुभयो । त्यसका लागि उनीहरुले प्राधिकरणको साइटमार्फत लगइन लिएर तोकिएको विवरण भर्नुपर्ने उहाँले बताउनुभयो । अहिले नमूना अभ्यासका लागि रेडक्रसका एक लाख जनशक्तिलाई त्यसमा जोडिएको पनि उहाँले जानकारी दिनुभयो ।–

प्रतिक्रिया