सरुवा विवादले भौतिकमा तनाव

admin

काठमाडौं , चैत १२ : भौतिक पूर्वाधार मन्त्रालयका उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच सरुवाको विषयलाई लिएर झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ ।

मन्त्रालय मातहतको प्रशासन महाशाखा प्रमुख तथा सहसचिव इन्द्रमणि पोखरेलको कार्यकक्षमा बिहीबार चर्को विवाद भएपछि स्थिति तनावपूर्ण भएको स्रोतले जनाएको छ ।

विवाद मिलाउन मन्त्रालयका सचिव केशव शर्मा नै पोखरेलको कार्यकक्षमा पुग्नुपरेको थियो । नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, महासचिव जनक राउल, नेता राजन खड्का लगायत नेताहरू र मन्त्रालयका उच्च कर्मचारीहरूबीच विवाद भइरहेका बेला उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरी पनि पोखरेलको कार्यकक्षमा थिए ।

कर्मचारी नेताहरू गिरीसँग पनि आक्रामक बनेका थिए । राउलले विधि र प्रक्रियाबाहिर गई सरुवा गर्न खोजेकाले मन्त्रालयका उच्च कर्मचारी र आफूहरूबीच भनाभन भएको स्विकारे तर हातपात भने नभएको दाबी गरे ।

युनियनका नेता खड्काले राजनीतिक पूर्वाग्रही भई केही उच्च कर्मचारीको सरुवा गर्न खोजिएकाले बिहीबार तनावपूर्ण अवस्था सिर्जना भएको बताए । ‘चैत सरुवाको सिजन होइन, त्यसमा पनि यो महिना विकास निर्माणमा व्यस्त रहने बेला हो ।

यस्तो बेला राजनीतिक पूर्वाग्रह राखी इन्जिनियरहरूको सरुवा गर्न खोजियो,’ खड्काले भने, ‘त्यसलाई हामीले रोेक्न खोज्यौ । त्यसैले तनावपूर्ण अवस्था आएको हो ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया