देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार

admin

काठमाडौँ, चैत १४ : विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राइएको सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोबार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाएको छ ।

यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गराई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाइएको छ ।

यस्ता पार्टपुर्जाको प्रयोगले गाडीहरु अप्रत्याशित दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावीत भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् ।

यस कुरालाई ध्यानमा राख्दै नेपाल प्रहरी र प्रशासनद्वारा काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरु र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोबारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी कार्य र कारवाहीलाई तीव्र बनाएको हो । यदी यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारवाही हुने व्यवस्था रहेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया