आज रामनवमी : मर्यादा पुरुषोत्तम श्रीरामको पूजाआराधना गरी मनाइँदै

admin

काठमाडौं, चैत १६ : आज बिहीबार रामनवमी पर्व, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।

हिन्दू धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथीमा पर्ने आजको दिनलाई भगवान् श्रीरामको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै नवदुर्गा देवीको पनि पूजा हुन्छ ।

त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो । आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन हिन्दू धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

आजको दिन काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर, पशुपति आर्यघाटमा रहेको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने गरेको छ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया